महिला टि ट्वेन्टी छनोटः नेपालको पहिलो जित, मलेसिया ३३ रनले पराजित

काठमाण्डौ,८ मंसिर । आइसिसी महिला टी ट्वेन्टी एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

१ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि इमिलिया एलियानीले २४ रन र कप्तान दुरासिंगमले ११ रनको योगदान दिए । जियामी सामिमी १६ रनमा अविजित रहेपनि जितका लागि पर्याप्त हुन सकेन ।

नेपाललाई जिताउन करुणा भण्डारीले ३ तथा रीतुकुमारी कनौजिया, नेरी थापा, सरिता मगरले एक एक विकेट लिए ।  थाइल्याण्डको बैंककमा पहिले ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।

उत्कृष्ट ब्याटिङ गरेकी सीता ४२ बलमा ३ चौकाको सहयोगले ३७ रन बनाउँदै दुर्भाग्यपूर्ण रुपमा मास इल्यासाको थ्रोमा रन आउट हुन पुगिन्। नेपालले दुई विकेट छिटो गुमायो। पूर्वकप्तान नेरी थापा ५ र रितु कनौजिया १ रन बनाएर आउट भए ।

रोमा थापा पनि ६ रन बनाएर आउट भइन्। काजोल श्रेष्ठ १४ रन बनाएर आउट भइन्। इन्दु बर्मा ६ र रुबिना क्षेत्री २ रनमा अविजित रहे।जितसँगै ४ अंक जोडेको नेपाल अंक तालिकको चौथो स्थानमा उक्लिएको छ। यसअघि थाइल्यान्ड र हङकङसँगको खेल वर्षाले प्रभावित बनेपछि नेपालले दुइ खेलमा २ अंक जोडेको थियो ।

तेस्रो खेलमा नेपाल युएईसँग ५ रनको झिनो अन्तरले पराजित गरेको थियो। अंक तालिकाको शीर्ष स्थानमा ७ अंक जोडेको थाइल्यान्ड छ । ५ अंक जोडेर हङकङ दोस्रो स्थानमा छ भने तेस्रो स्थानको युएईको ४ अंक छ।

छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन्।

छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन् । अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग खेल्ने छ ।