फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लिंदै १७०औं स्थानमा, सार्कमा भने तेस्रो

निलम महर्जन/काठमाण्डौं, ७ मंसिर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ ।

फिफाले आज जारी गरेको नोभेम्बर महिनाको वरियताक्रममा नेपालले ६ स्थान सुधार गर्दै एक सय ७० औं स्थानमा आएको हो । नेपालले वरियतामा ९८ अंक प्राप्त गर्दा सार्क क्षेत्रमा भने तेस्रो स्थानमा रह्यो ।

गत हप्ता सम्पन्न एएफसी एसियन कप क्वालिफायर खेलमा नेपालले फिलिपिन्स विरुद्ध घरेलु मैदानमा गोलरहित बराबरी खेलेको थियो । दक्षिण एसियामा पहिलो स्थानमा यथावत रहेको भारत एक सय पाँचौं स्थानमा छ ।

त्यस्तै माल्दिभ्स दोस्रो स्थानमा रहँदा नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । गत अक्टोबरमा तेस्रो पक्षको हस्तक्षप भएको भन्दै पाकिस्तानलाई फिफाले निलम्बन गरेको थियो ।

फिफाको विश्व वरीयतामा जर्मनी शीर्ष स्थानमा यथावत् छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो र बेल्जियम पाँचौं स्थानमा यथावत् स्थितिमा रहेका छन् ।