विवादका कारण फिल्म ‘पद्मावती’ को प्रिमियर रोकियो

मुम्बर्इ, ७ मंसिर । संजय लिला भंसाली निर्देशित फिल्म ‘पद्मावती’ रिलिज हुनुअघि नै विवादमा तानिएको कारण  प्रिमियर  रोकिएको छ ।

निर्देशक भंसालीको टाउको काट्ने र नायिका दिपिका पादुकोणको नाक काट्ने धम्की हिन्दू अतिवादी संगठन र जातीय समूहले बारम्बार दिंदै आइरहेको छ ।

फिल्म ‘पद्मावती’ १६ औं शताब्दीमा लेखिएको कवितामा वर्णित हिन्दू महारानी र मुस्लिम आक्रमणकारीको बारेमा बनाइएको हो ।

फिल्मको विरोधमा उत्रिएका जातिवादी समूहले फिल्ममा हिन्दू महारानी र मुस्लिम आक्रमणकारीबीचको प्रेम-प्रसंग देखार्इ “इतिहासको गलत व्याख्या गरेको” आरोप लगाएका छन् । तर निर्माताहरूले फिल्ममा त्यस्तो कुनै पनि दृश्य समावेश नगरिएको बताइरहेका छन् ।

केहीले फिल्ममा महारानीले गीतमा अंग प्रदर्शन गरेको प्रति पनि आपत्ति जनाएका छन् ।

फिल्मको मुख्य भूमिकामा देखिने दिपिका पादुकोणलार्इ ज्यान मार्ने  तथा नाक काट्ने धम्की आइरहेको बताइएको छ । भारतीय सत्तासीन पार्टीका एक नेताले फिल्मको मुख्य एक्टर र निर्देशकको टाउको काटेर ल्याउनेलार्इ १५ लाख भारु पुरस्कार दिने घोषणा पनि गरेका छन् ।

लगातार रुपमा आइरहेको यस्ता हिंसात्मक धम्कीहरूप्रति बलिउडका अन्य कलाकारहरूले समेत कडा प्रतिक्रिया दिनुका साथै यस्ता क्रियाकलापको भर्त्सना गरेका छन् ।

महिनौंदेखि फिल्मको विरोधमा उत्रिएका हिन्दू राजपुतहरूले फिल्म सेटमा आगजनी गर्नुका साथै डाइरेक्टर संजय लिला भंसालीमाथि हातपात गरेका थिए ।

हाललार्इ बढ्दो विवादका कारण फिल्मको रिलिज हुने मिति स्थगित गरिएको छ । बलिउड सम्बद्दहरुले भने फिल्ममा देखाइएको नचाहिंदो सेन्सरसीपको विरोध गरिरहेका छन् ।