छोरी निर्वाचनमा, बाबु हिरासतमा

काठमाण्डौ,७ मंसिर । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन– ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाललाई जिताउन खटिएका छिन् ।

प्रतिनिभिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो । उनका बाबु माणिक लामा भने निर्वाचन भाँड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माणिक सो समूहको ‘ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख र राष्ट्रिय तामाङ मुक्ति मोर्चाका प्रमुख हुन् ।

यसैगरी वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार झक्कु सुवेदीका छोरा सन्ताेष रोल्पामा निर्वाचनविरोधी गतिविधिमा संलग्न छन्। उनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

उनी कात्तिक २२ देखि रोल्पा प्रहरी हिरासतमा छन् । प्रहरीले उनलाई रोल्पा जिल्ला इञ्चार्ज दलबहादुर खत्रीसँगै पक्राउ गरेको थियो । याे खबर नागरिक दैनिकमा छ ।