August 23, 2017

मिलन क्रिकेट एकेडमी विरुद्ध एपिएफ ७ विकेटले विजयी

लक्ष्मण गौतम / धनगढी, वैशाख २१ । युनाईटेड अत्तरीया स्पोर्टस क्लबको आयोजनामा कैलालीको अत्तरीयामा देशकै सर्वाधिक धनराशीको रुस्लान अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

उद्घाटन खेलमा विभागीय टीम एपिएफले मिलन क्रिकेट एकेडेमी झापालाई ७ विकेटले हराउँदै सानदार जीत दर्ता गरेको हो । अत्तरीयास्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा ९३ रन बनायो ।

टोलीलाई सम्मानजनक योगफलसम्म डोराउनका लागि सरस्वती चौधरीले अविजित २१ र मेन्सी चौधरीले १९ रन बनाइन् । त्यस्तै टोलीका लागि रितु जैनले पनि १९ रन बनाइन् । एपिएफका लागि करुणा भण्डारीले मात्रै १ विकेट लिइन् । ३ जना खेलाडीहरु रनआउट भए ।

९४ रनको विजय लिएर मैदान उत्रिएको एपिएफले १५.५ ओभरमा ३ विकेट क्षतीमा विजय लक्ष्य पूरा गर्‍यो । जितमा ज्योती पाण्डेयको अर्धशतकीय पारी महत्वपूर्ण रह्यो । उनले ५३ रनको अविजित पारी खेलिन् । त्यस्तै करुणा भण्डारीले अविजित १८ रन बनाइन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा राईजिङ क्रिकेट वुमन काठमाण्डौ र कैलाली जिल्ला क्रिकेट एकेडेमी तथा दोस्रो खेलमा एपिएफ र कञ्चनपुर ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।