August 23, 2017

मन्त्रीपरिषद्ले गर्‍यो यस्ता महत्वपूर्ण निर्णयहरु

काठमाण्डौ, २१ वैशाख । सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले चार वर्षमा निर्माण सक्ने गरी काठमाण्डौ–निजगढ द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि दशैं खर्च, पोशाक भत्ता, औषधी उपचार खर्च दिने निर्णय गरेको छ । बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अरब रुपैंयाँ ऋण लिने प्रस्तावलाई स्वीकृति दिएको छ । त्यस्तै बैठकले पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यसै गरी नेपाली सेनाका विनायक सिंहलाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय पनि बिहीबारको बैठकले गरेको छ । त्यस्तै बैठकले सामान्य प्रशासन मन्त्री केशवकुमार विष्टको संयोजकत्वमा संघीय प्रशासनिक पूनर्संरचना समिति र काशीराज दाहालको नेतृत्वमा सहजीकरण समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

बैठकले साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ को सम्मानद्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय निर्वाचनको दिन वैशाख ३१ गते सार्वजनिक बिदा दिने र वैशाख २५ देखि ३१ गतेसम्म पहिलो चरणको निर्वाचन हुने स्थानको शैक्षिक संस्थालाई बिदा दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।