October 19, 2017

दोस्रो चरणको निर्वाचन अघि सार्न निर्वाचन आयोग सकारात्मक

काठमाण्डौ, २१ वैशाख । स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ १५ अघि सार्न निर्वाचन आयोग सकारात्मक भएको छ ।

दोस्रो चरणको निर्वाचन जेठ १५ अघि सार्न माग गर्दै लिखित ध्यानकर्षण बुझाउन बिहीबार निर्वाचन आयोग पुगेको एमालेको प्रतिनिधिमण्डलसग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरु ले राजनीतिक तहमा सहमति भए आयोग जेठ १५ अघि नै निर्वाचन गर्न सक्ने र तयार रहेको बताएका हुन् ।

स्थानीय निर्वाचनका बिषयमा एमाले प्रचार प्रसार समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले निर्वाचन आयोग जेठ १५ अघि निर्वाचन सार्न सकारात्मक रहेको तर त्यसका लागि राजनीतिक सहमति खोज्न आग्रह गरेको जानकारी दिए ।

संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले निर्वाचनसँग सम्बन्धित आचार संहिता, संवैधानिक व्यवस्था र व्यवहारिक कठिनाईका विषयमा जिज्ञासा राखेको थियो ।

संवैधानिक व्यवस्था अनुसार जेष्ठ १५ गते बजेट आउने भएकाले त्यसअघि नै दोश्रो चरणको निर्वाचन गर्नुपर्नेमा एमालेले जोड दिँदै आएको छ । एमालेले दोश्रो चरणको निर्वाचनको मिति तय गरिँदा आफूहरुसँग कुनै सल्लाह नै नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

स्थानीय निर्वाचनमा पार्टीलाई अध्याधिक जीत हासिल गर्नका लागि प्रचारप्रसारका साथै केही स्थानमा चुनावी तालमेल गरिएको पनि नेम्वाङले बताए ।