October 24, 2017

सुर्खेतमा मेयर पदका लागि पूर्व मेयरदेखि शिक्षकसम्म

रमेश कुमार पाण्डे / सुर्खेत, २१ वैशाख । वीरेन्द्रनगरको मेयर पदका लागि पूर्व मेयरदेखि प्रतिष्ठित शिक्षकले समेत उम्मेद्वारी दर्ता गरेका छन् ।

मूख्य चार दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका साथै एक जनाले स्वतन्त्ररुपमा उम्मेद्वारी दिएका छन् । काँग्रेसबाट मेयरमा देवकुमार सुवेदी, एमालेका तर्फबाट बालाराम शर्मा,  माओवादी केन्द्रबाट रत्न गाहा र स्वतन्त्रबाट गेहेन्द्र दहाल रहेका छन् ।

क्रमशः रत्न गाहा, बालाराम शर्मा, देवकुमार सुवेदी र गेहेन्द्र दाहाल

त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिए पनि स्वतन्त्र उम्मेद्वारको पनि ठूलो प्रभाव पर्ने  देखिएकाे छ । राप्रपाको उपस्थिति कमजोर नै भएपनि नतिजामा प्रभाव पार्न सक्ने देखिन्छ । लगातार २ कार्यकाल नगरपालिकाको नगर सभापतिमा निर्वाचित सुवेदी राजनीतिसँगै अन्य सामाजिक क्षेत्रमा समेत सक्रिय रहेकाले मेयरका लागि दर्जन बढी नेताहरु आकांक्षीहरु हुँदाहुँदै पनि पार्टीले सुवेदीलाई मेयरको टिकट दिएको हाे ।

विद्यार्थी जीवनबाटै राजनीतिमा लागेका शर्मा करिब ४० वर्षदेखि राजनीतिमा सक्रिय छन् । शर्मा २० वर्ष अगाडि २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

गाहा शान्ति प्रक्रियापछि प्रचण्ड नेतृत्वको पहिलो सरकारका बेला समाज कल्याण परिषद्को कोषाध्यक्ष र विभिन्न हैसियतमा हुँदै अहिले पार्टीको राष्ट्रिय आयोजक समिति सदस्य  छन् ।