शृंखलाबद्ध बम विस्फोट : चुनावी सुरक्षामा प्रश्न, चुनौती बन्दै विप्लव समूह

काठमाण्डौ,२ मंसिर । उम्मदेवारलक्षित विस्फोटका घटनाले शुक्रबार पनि निरन्तरता पायो । शुक्रबार मात्रै बिहान साढे १० र पौने १२ बजे दुई फरक–फरक स्थानमा बम विस्फोटका घटना भए ।

नुवाकोट १ को ककनी गाउँपालिका ५ डाँडागाउँमा नेपाली कांग्रेसका नेता रामशरण महतको निर्वाचन प्रचारप्रसारमा खटिएका कार्यकर्ता चढेको गाडी साढे १० बजे माइन विस्फोटनमा पर्‍यो । विस्फोटका कारण ५ जना घाइते भए ।

शुक्रबार बिहान नै पौने १२ बजे रोल्पाको सदरमुकाम लिबाङ जाँदै गरेका वाम गठबन्धनका उम्मेदवारहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरेर बम प्रहार भयो । चुनावी अभियानमा खटिएको पुनसहितको टोलीलाई बम प्रहार भएको यो तेस्रोपटक हो ।

गृह मन्त्रालयका अनुसार उम्मेदवार लक्षित विस्फोटका घटनाको संख्या आठ पुगेको छ । निर्वाचन बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेकपाले एकपछि अर्को गर्दै विस्फोट गराइरहेको भए पनि सुरक्षा संयन्त्रले त्यसलाई रोक्न कुनै प्रभावकारी कदम चालेको छैन ।

स्रोतका अनुसार गृहले २५ कात्तिकमा नै सुरक्षा संयन्त्रको बैठक डाकेर विप्लव समूहका केन्द्रीय नेताहरू र जिल्लास्तरीय नेतामाथि निगरानी बढाउने निष्कर्ष निकालेको थियो । त्यसयता विस्फोटका घटनामा झन् वृद्धि भएको छ । निगरानी गर्ने भनिए पनि सुरक्षा संयन्त्रले विप्लव समूहबाट यस किसिमको चुनौतीको आँकलन गरेको थिएन ।

अघिल्लो साता मात्रै पोखरामा भएको पश्चिमाञ्चलस्तरीय सुरक्षा गोष्ठीमा पनि विप्लव समूहबाट चुनावी सुरक्षामा खासै खतरा नहुने आकलन गरी निगरानी मात्रै बढाउने निष्कर्ष निकालिएको थियो । उक्त बैठकमा सहभागी एक प्रहरी अधिकारीले प्रहरी नेतृत्वले विप्लव माओवादीलाई कम आँक्दै तिनीहरूमाथि निगरानी मात्रै बढाउने कुरा उठेको बताए ।

गृहले निर्वाचन सुरक्षासम्बन्धी यसअघिको एकीकृत सुरक्षा योजना परिमार्जन गरेको थियो। गृहले ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकीकृत सुरक्षा योजना २०७४’ बनाएर कार्यान्वयनमा ल्याएको थियो । यसअघिको स्थानीय तह चुनावजस्तै यसपटक पनि तीनघेरे सुरक्षा योजना छ ।

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना। तर, लगातारका उम्मेदवार लक्षित विस्फोटका घटनाले निर्वाचन सुरक्षा योजना कार्यान्वयनमाथि प्रश्न खडा गरिदिएको छ ।

गृह सचिव मोहनकृष्ण सापकोटाले कान्तिपुरसँग कुरा गर्दै बदलिएको परिस्थितिअनुसार सुरक्षा योजनामा फेरबदल गर्न जिल्ला सुरक्षा समितिलाई अधिकार दिइएको बताए ।

उनले भने, ‘जिल्लाको सुरक्षा अवस्था हेरेर रणनीति बनाउन हामीले अधिकार दिएका छौं।’ गृहसचिव सापकोटाले विस्फोटनका पछिल्ला घटनाप्रति मन्त्रालय संवेदनशील भएको र निर्वाचन बिथोल्ने समूहमाथि थप निगरानी बढाइएको बताए । याे खबर कान्तिपुर दैनिकमा छ ।