August 20, 2017

नगरको समग्र समृद्धिमा अग्रसर हुने उम्मेदवारहरुको प्रतिबद्धता

भक्तपुर २१ वैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा चुनावी चहलपहल बढेको छ । भक्तपुरमा रहेको चारवटै नगरपालिकामा सबै दलहरुले राजनीतिक चहलपहल बढाएका छन् ।

नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारहरुले यहाँका नगरहरुको समग्र विकासका साथै देशकै नमूना नगरका रुपमा भक्तपुरका नगरलाई विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भक्तपुरका विभिन्न नगरपालिकाका नगर प्रमुख उम्मेदवारहरुले यहाँको शिक्षा, स्वास्थ्य, सडक, ढल निकास, पर्यटन लगायतका क्षेत्रको समग्र विकासका लागि लागि पर्ने मा जोड दिएका छन् ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार अष्ट कबेले मध्यपुरको समग्र विकासका साथै मनोहरा र हनुमन्ते खोलाको फोहोर व्यवस्थापन गरी यस नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने बताए । उनले नगरमा खेलकुदको विकासका साथै कृषि क्षेत्रमा विकास गर्दै मध्यपुर थिमी नगरलाई सूचनामैत्री बनाउने पनि योजना रहेको जानकारी दिए ।

यस्तै चाँगुनारायण नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार सोम मिश्रले नगरको धार्मिक, साँस्कृतिक पर्यटन विकासका साथै यहाँको समग्र विकासमा लागि पर्ने बताए । उनले वीर अस्पताललाई चाँगुमा स्थापना गरी भक्तपुर जिल्लाकै नागरिकको स्वास्थ्यमा पहुँचवृद्धि गराउनेमा जोड दिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दिलकृष्ण तजले सूर्यविनायकलाई पर्यटकिय सूचना केन्द्रका रुपमा विकास गर्ने बताएका छन् । उनले सूर्यविनायकलाई धार्मिक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न डोलेश्वर महादेव, आशापुरी लगायतका यहाँका धार्मिक स्थलको संरक्षण गर्ने र एक घर एक रोजगारीको अभियान अघि बढाउने विश्वास पनि दिलाए ।

यस्तै चाँगु नारायण नगरपालिकामा राप्रपाका तर्फबाट मेयरका उम्मेदवार रविन्द्रप्रताप शाहले हिन्दू राष्ट्र कायम गर्नुको साथै भ्रष्टाचार मुक्त नगर स्थापना र यहाँको समग्र विकासका लागि आफू लागिपर्ने बताए ।