August 16, 2017

कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने

काठमाण्डौ, २१ वैशाख । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले काठमाण्डौ, चितवन र पोखरामा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । सहमति अनुसार काठमाण्डौ र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने र चितवनको भरतपुरमा माओवादीलाई कांग्रेसले सघाउने बैठकपछि कांग्रेस महामन्त्रि शशांक कोईरालाले जानकारी दिए ।

काठमाण्डौमा कांग्रेसले राजुराज जोशीलाई मेयर र हरिप्रभा खड्गीलाई उपमेयरको उम्मेदवार बनाएको छ भने माओवादीले सर्वोत्तम डंगोललाई मेयर र सुशीला पौडेललाई उपमेयर बनाएको छ । यस्तै भरतपुरमा कांग्रेसले दिनेश कोइरालालाई मेयर र पार्वती शाहलाई उपमेयर बनाएको छ भने माओवादीले प्रचण्डपुत्री रेणु दाहाललाई मेयर र सुरेन्द्र तामाङलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

त्यस्तै पोखरामा कांग्रेसले रामजी कुँवरलाई मेयर र सरस्वती गुरुङलाई उपमेयर तथा माओवादीले विश्वप्रकाश लामिछानेलाई मेयर र उमा ढकाललाई उपमेयरको उम्मेदवार बनाएको छ ।