November 17, 2017

यस्तो रह्यो अनिल गुरुङको खेल जीवन : राष्ट्रिय टोलीबाट सन्यासपछिको फ्ल्यासब्याक

निलम महर्जन / काठमाण्डौं, २९ कार्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीमा १० नम्बरको जर्सी लगाउँदै विपक्षीको पोष्टमा धावा बोल्ने स्ट्राइकर हुन् अनिल गुरुङ । तिनै अनिलले मंगलबार फिलिपिन्स विरुद्धको खेलबाट नेपाली टोलीमा आफ्नो ५० औं क्याप पूरा गर्दै अनिलले सन्यास लिएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एएफसी एसियन कप छनोट अन्तर्गत पाँचौं खेलमा फिलिपिन्सलाई गोल रहित बराबरीमा रोक्दै नेपाली टोलीले अनिललाई सुखद विदाई गरे ।

फिलिपिन्सविरुद्ध खेलको ८१ औं मिनेटमा अनिल मैदान प्रवेश गरेका थिए । राष्ट्रिय टोलीको करियरको अन्तिम खेल खेल्दै गरेका उनी सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । मैदान छिर्न लाग्दा नेपालको कप्तानी गरिरहेका विराज महर्जनले कप्तान आर्म ब्यान्ड फुकालेर अनिललाई लगाउँदै गर्दा गुञ्जायमान सातदोबाटो मैदानमा एक किसिमको भावुकता छाएको थियो ।

खेल लगत्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै उनलाई सम्मानसहित बिदाई गर्यो । कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, मुख्य प्रशिक्षक ग्योतोकु कोजी, एन्फा पदाधिकारी खेलाडीहरूले उनको बिदाई गरेका थिए ।

अन्तिम पटक नेपाली जर्सी लगाई मैदानमा ढोगेका अनिलले भावुक हुँदै नेपाली दर्शक र समर्थन मिस गर्ने बताए । “आगामी दिनमा राष्ट्रिय टोलीमा नरहे पनि क्लब फुटबललाई निरन्तरता दिनेछु ।

फुटबलबाट कहिल्यै  टाढा हुन सक्दिन ।” राष्ट्रिय टोलीमा १० वर्षे यात्रामा पुर्णविराम लगाउँदै गरेका अनिलले मैदान भित्रभन्दा बाहिर दर्शकहरूमा बढि ध्यान गइरहेको बताएका थिए । उनको बिदाइमा खेलाडीहरूले पनि भावुक हुँदै अनिल एक असल खेलाडी र कप्तान रहेको बताए ।

भलिबल खेल्दा खेल्दै फुटबल तिर लागेका अनिलको फुटबल यात्रा भने सन् २००१ मा पोखराको साहारा ऐकेडेमीबाट शुरु भएको थियो । पारिवारिक सहमती बिनानै फुटबलमा लागेका अनिलको परिवार भने उनी सेनामा लागेको हेर्न चाहन्थे ।

हाल ए डिभिजन क्लब मनाङ् मस्र्याङ्दीमा आबद्ध रहेका अनिलले ब्रिगेड ब्याईज, थ्री स्टार, एनआरटी तथा भारतीय चर्चित क्लब सिलोङ लाजोङ्बाट पनि खेलिसकेका छन् ।

अनिल एनआटी र सिलोङमा हुँदा नेपालकै सवार्धिक महँगा खेलाडी थिए । इङलिस फुटबलको छैटौं श्रेणीको क्लब वोकिङ एफसीमा ट्रेनिङ र ट्रायल दिएपनि श्रम इजाजत नपाएका कारण त्यहाँबाट खेल्न भने पाएनन् ।

अनिलले सन् २००७ मा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । विश्वकप २०१० को छनोट अन्तर्गत ओमान विरुद्ध मस्कटमा खेलिएको खेलमा अनिल पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए ।

दश वर्ष नेपाली टोलीमा रहेका अनिलले देशको लागि नौ गोल गरेका छन् । उनले अफगानिस्तानविरुद्ध सबैभन्दा बढी तीन गोल गरेका छन् । करियरकै ठूलो उपाधि बंगबन्धु गोल्डकप जितेका अनिल यु १९ र यु २३ हुँदै सिनियर टोलीमा परेका हुन् ।

नेपाली टोलीको जितमा सधैं महत्वपुर्ण भुमिका खेलेका अनिल कप्तानीको जिम्मेवारीसँगै पछिल्लो समय सुरुवाती एघारमा परेनन् । नेपाली फुटबलको आरोह अवरोहको साक्षी अनिललाई क्लब फुटबलमा भने समर्थकको साथ रहिरहने छ ।