सरकारले बूढीगण्डकी सम्झौता खारेज गरेकोमा प्रचण्डकाे आपत्ति

काठमाण्डाै,२९ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी सरकारले खारेज गरेकोमा आपत्ति जनाएका छन् ।

अध्यक्ष प्रचण्डले सत्ता साझेदार प्रमुख दल आफ्नो पार्टीसँग सल्लाह समेत नगरी  बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेर संविधानको भावना विपरित अघि बढिरहेको आरोप लगाएका छन्।

चितवनमा स्थानीय संचारकर्मीमाझ उनले बुढीगण्डकी जलविद्युत आयोजना चीनलाई निर्माण गर्न दिने आफू नेतृत्वको सरकारको निर्णय खारेज गरेबाट सरकार मुलुकको आर्थिक समृद्धि र विकासको बाधक बन्न गएको पुष्टी भएको दावी गरेका छन्।

प्रचण्ड नेतृत्वको सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो । उनले मुलुकमा अप्ठयारो परिस्थिति आउन नदिनकै लागि सरकारबाट हट्ने निर्णय नलिएको बताएका हुन् ।