November 20, 2017

विश्व विजेता जर्मनीको अपराजित यात्रा कायम

काठमाण्डाै, २९ कार्तिक । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप मंगलबार राति भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा फ्रान्ससँग २–२ को बराबरी खेल्दै जर्मनीले अपराजित यात्रा कायम राख्न सफल भएको छ ।

जर्मनी पछिल्ला २१ खेलमा पराजित भएको छैन । खेलको अन्तिमसम्म २–१ ले पछि परेको जर्मनीलाई हारबाट जोगाउन इन्जुरी समयमा लार्स स्टेण्डलले गरेको गोल निर्णायक बन्यो ।

३३ औं मिनेटमा एलेक्जान्डर लाकेजिटले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५६ औं मिनेटमा टिमो वेर्नरले जर्मनीका लागि बराबरी गोल फर्काए ।

तर ७१ औं मिनेटमा लाकेजिटले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले २–१ ले अग्रता लियो । तर इन्जुरी समयको तेस्रो मिनेटमा स्टेण्डलले गोल गर्दै सन् २०१४ को विश्वकप विजेता जर्मनीलाई हारबाट जोगाए ।

जर्मनी गएको हप्ता भएको इंग्ल्याण्डसँगको मैत्रिपूर्ण खेलमा गोलरहित बराबरीमा रोकिएको थियो ।