November 20, 2017

मकवानपुरमा छुट्टा-छुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

मकवानपुर,२९ कार्तिक  । मकवानपुर हेटौँडा—नारायणघाट सडकखण्डको लेवट बसामाडीमा गएराति  मोटरसाइकललाई टिपरले ठक्कर दिदा २ जनाकाे मृत्यु भएकाे छ ।

हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै त्रिभुवन राजपथको सामरीमा ना ६ त १०५१ नम्बरको ट्र्याक्टरले एक पैदलयात्रुलाई आज बिहान ४ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपनगरपालिका–१५ बस्ने १९ वर्षीय आकाश लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।