November 20, 2017

कम्युनिष्टले जिते एकदलीय तानाशाही आउने खतरा :  देउवा

नेपालगञ्ज २८ कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताएका छन ।
प्रधानमन्त्री देउवाले मंगलबार नेपालगञ्जमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै “नेपाली कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन” प्रधानमन्त्री देउवाले भने “नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ , त्यसैले यो चुनाव जित्न आवश्यक छ ।”
प्रधानमन्त्री देउवाले अहिलेको अवस्था चिन्ताजनक भएको पनि उल्लेख गर्दै भने ,“तपाईहरु ढुक्क भएर नबस्नुहोला, यो चुनाव कुनैपनि हालतमा जित्नुपर्छ भन्ने ढंगले परिचालित हुनुहोला । ”
सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै अधिनायकवादलाई परास्त गर्दै आएको उल्लेख गर्दै भने,“२००७ सालको जनक्रान्तिले राणा शासन फाल्यौ, २०४६ सालको आन्दोलनले पञ्चायत फाल्यौ, २०६२/६३ को आन्दोलनले अधिनायकवादी राजतन्त्र फालेर लोकतन्त्र ल्याएको हो , जनताको अधिकारकालागि लड्ने पार्टी कांग्रेस बाहेक अर्को छैन ।”
उनले नेपालगञ्ज मध्यपश्चिमको केन्द्र रहेको र नेपालगञ्जको माहोलको प्रभाव कर्णालीसम्म पर्ने भएकोले बाँके र यससंग जोडिएका बर्दिया,सुर्खेत,दाङ् सबै जिल्लामा नेपाली कांग्रेसलाई बिजयी बनाउन सम्पूर्ण कार्यकर्ता खट्नु पर्ने बताए ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको सिट घटेको र निर्वाचनमा टिकट दिनुपर्ने योग्य आकांक्षीहरु धेरै भएकोले सबैलाई  टिकट दिन नसकिएको बताउदै पार्टीको नेतृत्वमा सरकार बनेपछि योग्यता,क्षमता र दक्षता हेरी सबैलाई जिम्मेवारी दिइने बताए
नेपाली काँग्रेसले सोमबारदेखि क्षेत्रीय स्तरको मिडिया सेन्टर नेपालगञ्जमा सञ्चालनमा ल्याएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक समारोहका बीच क्षेत्रीय मिडिया सेन्टरको उद्घाटन गरेका थिए ।