November 20, 2017

राष्ट्रिय जनमोर्चाको घोषणा-पत्र सार्वजनिक

काठमाडौं, २७ कार्तिक । राष्ट्रिय जनमोर्चाले संघियता खारेजी देखि एकिकृत बस्ती विकाससम्मका एजेण्डासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा उक्त पार्टीले पत्रकार सम्मेलन गरेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ,समृद्ध नेपालको निमार्ण गरौँ’ भन्ने मुल नारा रहेको चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष रश्मिराज नेपालीले वैदेशिक हस्तक्षेपको बिरुद्धमा आफ्नो पार्टी कुनैपनि जोखिम मोल्न तयार रहेको स्पष्ट पारे ।

उनले भने,‘राष्ट्रिय जनमोर्चा एमाले माओवादी, काँग्रेसजस्तो घाती पार्टी होईन, मुलुक र जनताप्रति उत्तरदायी पार्टी हो, हामीले चुनावी घोषणापत्रमा पनि लेखेका छौ, संघीयता खारेजी हुनुपर्छ, सिंहदरबार गाउँमा पुगेको कुरा हामीले स्वीकार गरेका छौँ, सिंहदरबारको महाभ्रष्ट रोग गाउँमा पुग्नबाट बचाउनको लागि यो घोषणा पत्र सार्वजनिक गरेका छाैं।’

त्यस्तै पार्टी सचिव भीमलाल पुरीले घोषणा पत्रको अन्तरवस्तुका बारेमा बोल्दै जल, उद्योग, कृषि र पर्यटन क्षेत्रको विकासले मात्रै मुलुक समृद्ध बन्ने दाबी गरे ।

उनले भने,‘हाम्रो मुलुक प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश हो, हाम्रो पार्टी जल, उद्योग, कृषि र पर्यटनको विकासका एजेण्डा लिएर चुनावी मैदानमा छ, जनताले उचित न्याय गर्नेछन्।’

आपसी हितका आधारमा अन्तराष्ट्रिय सम्बन्ध विस्तार एवम् विकास गर्ने भन्दै पार्टी सचिव पुरीले अन्य राजनीतिक दलहरूलाई भारत परास्तको आरोप लगाए ।

उनले भने,‘हामी नेपालको राजनीतिक, साँस्कृतिक, आर्थिक र सामाजिक क्षेत्रलाई नितान्तै आफ्नोपन र आफ्नो क्षमताका आधारमा विकास गर्न चाहन्छाैं, तर अरु दल काँग्रेस, एमाले, माओवादीहरू भारतलाई सत्तामा पुग्ने मार्ग बनाउँछन्, अनि हाम्रो मुलुक कसरी उँभो लाग्छ ?’