November 20, 2017

बुढीगण्डकी आयोजना निर्माणको सम्झौता खारेज

काठमाण्डौ,२७ कार्तिक । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चाइना गेजुवा ग्रुप अफ कम्पनी सँग गरेको सम्झौता खारेज गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिएका छन् ।

अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बुढी गण्डकी जलविद्युत आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको उर्जामन्त्री थापाले आफ्नो ट्विटरमा लेखेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उर्जामन्त्री जनार्दन शर्माले गेजुवा ग्रुपसँग बुढीगण्डकी निर्माणबारे सम्झौता गरेका थिए । यसअघि संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएका थिए ।

उक्त निर्णयको पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि विरोध गर्दै आएका थिए ।