November 20, 2017

घरमै यसरी बनाउनुहोस् मुखै रसाउने रसबरी

बजारमा मिठाइ पसलमा पाइने रसगुल्ला वा रसबरी त तपाइँले चाख्नु भएकै होला । रसबरी मन नपर्ने मान्छे कमै होला । हर जो कोहीलार्इ रसबरीको मिठो स्वाद जिब्रोमा झुन्डिने गर्दछ । आम नेपालीहरूलार्इ बजारसम्मको पहुँचमा कठिनाइको कारण तथा रसबरीको महंगो बजार मूल्यले गर्दा चाहेको बखत् किनेर खान असम्भव जस्तै हुन्छ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा के भने मिठाइ पसलमा पाइने रसबरी कत्तिको स्वस्थ्यबर्द्धक वा सरसफाइमा ध्यान दिएर बनाइएको हुन्छ भन्ने विषयमा प्रश्न उठ्ने गर्दछ । त्यसकारण आफ्नो घरमा आफूले चाहे जति र चाहेको बेला सस्तो लगानीमा सजिलै आफ्नै हातले बनाएर खानुको मज्जा नै छुट्टै हुन्छ । आउनुहोस् हामी तपाइँलार्इ बताउँछौं घरमै कसरी सजिलो तरिकाबाट थोरै खर्चमा मिठो र ताजा रसबरी बनाएर खान सकिन्छ ।

बनाउन चाहिने सामग्रीहरू

दुध    –  १ लिटर

कागतीको रस –  ३ चम्चा

पानी  –  ४ कप

चिनी  –  १ कप

सुकमेल –  २ दाना

बनाउने विधि :-

सबैभन्दा पहिले १ लिटर दुधलार्इ सफा भाँडोमा तताउनुहोस् । एक लिटर दुधबाट १० देखि १२ वटा रसबरी बनाउन सकिन्छ । दुध उम्लिएपछि ३ चम्चा जति कागतीको रस वा २/३ वटा कागती निचोरेर दुधमा हाल्नुहोस् । केही समयपछि दुध फाट्न थाल्दछ । कागतीको सट्टा भिनेगर पनि राख्न सक्नुहुन्छ ।

दुध राम्रोसँग फाटेपछि ग्याँस बन्द गर्नुहोस् वा आगोबाट बाहिर निकाल्नुहोस् । अब फाटेको दुधलार्इ कुनै सफा र नरम कपडाको सहायताले छान्नुहोस् । कपडामा छानिएर बसेको दुधको छोक्रालार्इ कागतीको अमिलो फाल्ने उद्देश्यले सफा पानीले पखाल्नुहोस् । अब उक्त दुधको छोक्रालार्इ सोही कपडाको टालोमा पोको पारेर कम्‍तिमा आधा घण्टा जति कतै झुन्ड्याउनुहोस् । बचेको पानी तैरिएर जान दिनुपर्छ ।

त्यसपछि दुधको डल्लालार्इ ५/६ मिनेट जति मज्जाले मिचेर मुछ्नुहोस् । मुछिएर नरम भइसकेपछि यसलार्इ हत्केलाको सहायताले स-साना १० देखि १२ गोलाकार डल्ला बनाउनुहोस् । डल्लाहरू चिल्लो नचर्किएको हुनुपर्छ । डल्लाहरू राम्रोसँग नबाँधिएको खण्डमा पुनः एक टेबुल चम्चा जति मैदाको पिठो मिसाएर मुछ्नुपर्छ । सकेसम्म पिठो नमिसाएको राम्रो हुन्छ । बनाएका डल्लाहरू प्लेटमा राख्नुहोस् ।

अब ४ कप पानीमा एक कप चिनी मिसाएर उमाल्नुहोस् र छ भने २ दाना सुकमेल पनि पानीमा राख्नुहोस् । एक चम्चा जति दुध पनि मिसाउनु भयो भने चिनीपाक सफा देखिन्छ । चिनी घुलेर उम्लिन थालेपछि दुधका डल्लाहरू हाल्नुहोस् र ढक्कनले छोप्नुहोस् । १५ मिनेटजति पाक्न दिनुहोस् । पाकेपछि डल्लाहरू पहिलेको तुलनामा दोब्बर आकारका हुन्छन् । अब तपाइँको रसबरी तयार भयो । यसलार्इ तुरुन्तै खान पनि सक्नुहुन्छ । फ्रिजमा राखेर ठण्डा भएपछि खाँदा उत्तम हुन्छ ।