November 20, 2017

गृहजिल्लामा चुनाव जित्न प्रधानमन्त्रीलाई यस्ता छन् चुनौती

काठमाण्डौ,२७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको छ ।

डडेलधुरामा देउवाले २०४८ यता चुनावी परिणाम अरूको पोल्टामा पर्न दिएका छैनन् । गठबन्धनले देउवाविरुद्ध प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टलाई उतारेको छ । कांग्रेसको दुई खेमामा विभाजित जिल्लाको पार्टी पंक्ति र एमाले–माओवादीबीचको गठबन्धन देउवाका लागि कडा चुनौती बन्ने देखिन्छ ।

विभाजित पार्टी पंक्तिका कारण स्थानीय तह चुनावमा कांग्रेसले जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकासहित ३ वटा स्थानीय तहमा पराजय बेहोरेको थियो । स्थानीय तहमा एमाले र माओवादीले ल्याएको मत कांग्रेसको भन्दा ८ हजार बढी छ । पार्टीको मत बढाएर जित्न देउवालाई यस पटक ठूलै कसरत गर्नुपर्ने यहाँका बुद्धिजीवी बताउँछन् ।

पछिल्लो संविधानसभा चुनावमा देउवाले आफ्ना प्रतिस्पर्धी माओवादीकै भट्टभन्दा साढे ८ हजार मत बढी ल्याएका थिए । भट्ट ०६४ र ०७० दुवै संविधानसभा निर्वाचनमा देउवाका निकटतम प्रतिस्पर्धी थिए । ०६४ मा भट्ट जम्मा १३ सय मतले पराजित भएका थिए भने ०७० मा साढे ८ हजार मतले ।

त्यतिबेला एमालेका तारा जोशीले ७ हजार मत ल्याएका थिए। ०७० मा एमाले र माओवादी दुवैको भन्दा देउवाले डेढ हजार बढी मत ल्याएका थिए । भट्ट देउवाविरुद्ध तेस्रो पटक मैदानमा छन् ।

गठबन्धनका उम्मेदवार भट्टले चार–चार पटक प्रधानमन्त्री भएका देउवाले जिल्लाको बेरोजगारी समस्या समाधान गर्न नसकेको र आवश्यक मात्रामा विकास निर्माणका कामसमेत नगरेकाले डडेलधुरावासीले यस पटक उनको विकल्प खोज्ने दाबी गरेका छन् ।

२७ वर्षसम्म सत्ताको शिखरमा रहँदा पनि जिल्लामा उद्योगधन्दा खोल्न नसकेको, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने प्राविधिक शिक्षालय र अस्पताल ल्याउन नसकेको आरोप लगाउँदै वाम गठबन्धनले यस पटक डडेलधुरावासीले देउवालाई पराजित गर्ने दाबी गरेको छ।

देउवाले २७ वर्षमा गर्न नसकेको विकास आफूले ५ वर्षमा गर्ने दाबीसमेत भट्टको छ । देउवालाई गठबन्धनको चुनौती चिर्नभन्दा पनि दुईतिर फर्केको पार्टी पंक्तिलाई एकताबद्ध बनाउन ठूलो सकस परिरहेको छ । डडेलधुरामा बहालवाला पार्टी सभापति कर्ण मल्ल र पूर्वसभापति रघुवर भट्टका दुई गुट छन् ।

देउवासित आफू मात्र निकट हुन यी दुवै गुटका नेता एक–अर्कालाई सिध्याउने खेलमा थिए । यी दुई गुटबीचकै विवादले पार्टीको सबभन्दा मजबुत पकड भएका अमरगढी नगरपालिका, नवदुर्गा र अजयमेरु गाउँपालिकामा स्थानीय तह चुनावमा लज्जास्पद हार बेहोरेको थियो।

कांग्रेसकै अन्तरद्वन्द्वका कारण अमरगढी र नवदुर्गामा एमाले तथा अजयमेरुमा माओवादी स्थानीय तहमा विजयी भएका छन् । स्थानीय चुनावपछि यी दुई गुटका नेता र कार्यकर्ताबीच बोलचाल बन्द भएको थियो ।

वाम गठबन्धन बनेर पार्टीमाथि चुनौती बढेपछि मात्र दुई गुटका नेताबीच बोलचाल सुरु हुनुका साथै सँगै राजनीतिक गतिविधि गर्न थालेका छन् । देउवाले दुवै गुटका नेतृत्वकर्ता भट्ट र मल्ललाई प्रदेशसभा सदस्यतर्फ क्रमशस् ‘क’ र ‘ख’ को उम्मेदवार बनाएर पार्टीभित्रको विवाद मिलाउने प्रयास गरेका छन् ।

देउवाले दुवै गुटका अरू नेतालाई समेत प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक उम्मेदवार बनाएर सबैलाई समेट्न खोजेका छन् । दुवै गुटका नेतालाई उठाउँदैमा जिल्लाको सिंगो पार्टी पंक्ति एकढिक्का हुनेमा अझै आशंका छ ।

मल्ल र भट्ट समूहका स्थानीय नेता तथा कार्यकर्ताले सँगै प्रचारमा हिँडेर पार्टी एकजुट भएको सन्देश दिन खोजेका पनि छन् तर व्यवहारमा उनीहरू एकताबद्ध हुनेमा कतिपय कांग्रेसी नै विश्वस्त हुन सकेका छैनन् । याे खबर कान्तिपुर दैनिकमा छ ।