August 23, 2017

काठमाण्डौका गुन्डाहरू पक्राउ पर्दै छुट्दै

काठमाडौं, २१ बैशाख । पछिल्लो एक महिनायता राजधानीमा सक्रिय गुन्डागर्दीमा संलग्न समूहविरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको छ । तर, पक्राउ परेकाहरू २–४ दिनमै छुट्ने गरेका छन्। गत साता पक्राउ परेका सामाखुसी क्षेत्रका गुन्डा नाइके साजन महर्जन मंगलबार २ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा दायर गरेकोमा उनी न्यूनतम धरौटीमै छुटेका हुन् ।

गुन्डागर्दीकै आरोपमा गत साता पक्राउ परेका कान्छा दीपेन्द्र प्याकुरेल पनि बुधबार पाँच हजार रुपैया धरौटीमा छुटेका छन् । कालिमाटी क्षेत्रमा गुन्डागर्दीको आरोपमा पक्राउ परेका वसन्त भुसाल पनि पाँच हजार धरौटीमै छुटेका छन् । कांग्रेसनिकट सञ्जीव लामा ‘स्याल’ भने प्रहरी हिरासतमै छन् ।

सार्वजनिक अपराध मुद्दामा उनीहरूलाई प्रहरीले २४ दिनसम्म थुनेर अनुसन्धान गर्न सक्छ । तर, राजनीतिक दबाब र चलखेलका आधारमा पक्राउ परेका सबैजसो गुन्डा एक सातामै छुट्ने गरेका छन् । गुन्डाहरूको ठूला नेताहरूसग निकटता रहेकाले सजिलै छुट्ने गरेका छन् । यो खबर नयाँ पत्रिकामा  छ ।