November 20, 2017

यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १ सय ८६ रनको लक्ष्य

काठमाण्डाै,२६ कार्तिक । मलेशियामा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भारतसामु एक सय ८६ रनको चुनौती पेश गरेको छ ।

क्वाललम्पुरस्थित बेउमास ओभल मैदानमा जारी खेलमा नेपालले भारतसामु एक सय ८६ रनको चुनौती दिएको हो । भारतविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित पचास ओभर खेल्दै आठ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको छ ।

खेलमा नेपालको सुरुवात राम्रो हुन सकेन । नेपालका प्रारम्भिक ब्याटसम्यान असिफ शेख ३ र अनिल साह ६ रनमा आउट भएपछि धरमराएको नेपालको इनिङ जितेन्द्र सिंह र कप्तान दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने प्रयास गरेका थिए ।

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ८८ रनको योगदान दिए । त्यस्तै, जितेन्द्र सिंह ठकुरीले ३६ तथा भिम सार्कीले १५ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङ्तर्फ भारतका आदित्य थकेर र अभिषेक शर्माले समान दुई दुई विकेट लिए । यसअघि, हिजो भएको पहिलो खेलमा नेपाल बंगलादेशसंग २ विकेटले पराजित भएको थियो ।