August 21, 2017

नागार्जुन नगरपालिकाका नयाँ शक्तिका उम्मेद्वारको अपहरण

काठमाण्डौ, २० वैशाख । नयाँ शक्ति पार्टी नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई आज साँझ अज्ञात समूहले अपहरण गरेको छ ।

आज साँझ ७ः१२ बजे उनलाई काठमाण्डौको नयाँबजारबाट ४ जनाको समूहले अपहरण गरेको हो । नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको बताइएको छ ।

नयाँ शक्ति पार्टी नेपालले जित्ने पक्का भएकोले विपक्षीहरुले उम्मेद्वार अपहरण गरेको नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताइन् । वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको उनले बताइन् ।

यसअघि गोरखाको भीमसेन गाउँपालिका वडा नं. ५ का वडाध्यक्षका उम्मेद्वारलाई पनि उम्मेद्वारी दिए ज्यान मार्ने धम्की दिइएको थियो ।