
काठमाण्डौ, २५ कार्तिक । एसिसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपाल र बंगलादेशबीच खेल चलिरहेकाे छ ।
मलेसियाको किनरारा ओभलमा टस जितेको बंगलादेशले पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गरिरहेको छ । खेल वर्षाका कारण प्रभावित बनेपछि ४३ ओभरमा झारिएको छ ।
अहिले आसिफ शेख र अनिल शाह ब्याटिङ गरिरहेका छन् । ओपरन जितेन्द्रसिंह ६ रनमा आउट भएका छन् । उनले १९ बल खेल्दा १ चौका प्रहार गरे । नेपाल र बंगलादेशको युवा क्रिकेट टिमबीच पछिल्लो १० दिनमा चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो।
नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल र बंगलादेशबिच अहिलेसम्म औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका छन् । त्यसमा नेपालले एक खेल मात्रै जितेको छ ।
तीन खेलमा पराजित भएको थियाे । नेपाल सन् २००२ को १९ वर्षमुनिको विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेच च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । त्यसबेला विनोद दास नेपाली टोलीका कप्तान थिए । अहिले उनी मुख्य प्रशिक्षक हुन् ।
सन् १९९७ को युथ एसिया कपमा नेपालको यु–१९ टोली बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो । यस्तै सन् १९९९ मा पनि बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भयो ।
पछिल्लो पटक नेपाली टोली सन् २०१५ को यु–१९ विश्वकपमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।