November 20, 2017

शाहरुख खानको जग्गा चन्द्रमामा पनि

काठमाण्डौं, २३ कार्तिक । बिहिबार मात्र ५२ औं जन्मोत्सव मनाएका बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानको नाममा चन्द्रमा पनि जग्गा छ भन्ने थाहा पाउँदा तपाइँ दंग पर्न सक्नुहुन्छ ।

हो, शाहरुख खानलार्इ उक्त जग्गा उनका दुर्इ अष्ट्रेलियन फ्यानहरूले बर्थ डे गिफ्टको रुपमा उपहारस्वरुप दिएका हुन् । शाहरुखले एउटा अन्तर्वार्तामा आफूसँग सो जमिनको जग्गाधनी पूर्जा समेत रहेको बताए । चन्द्रमाको उक्त जग्गाको पूर्जा उनलार्इ लुनार रिपब्लिक सोसाइटीले दिलाएको हो । त्यसैगरी सन् २००९ मा चन्द्रमाको एउटा क्रेटरको नाम नै अभिनेता शाहरुख खानको नाममा नामाकरण गरिएको थियो ।

एउटा दैनिक पत्रिकासँगको अन्तर्वार्तामा शाहरुखले हरेक वर्ष आफ्नो जन्म दिनको अवसरमा एउटा अष्ट्रेलियन महिलाले उपहारको रुपमा चन्द्रमामा जग्गा किनिदिने गरेको र लुनार रिपब्लिक सोसाइटीबाट सर्टिफिकेट दिलाउने गरेको बताए ।

सो महिलासँग उनले भेट गरिसकेको र र्इ-मेलमार्फत् उनीसँग सम्पर्क भइरहने पनि खुलाए, “उनी मलार्इ रङ्गीन र्इ- मेलहरू पठाइरहन्छिन् । संसारभरिका यति धेरै फ्यानहरूको माया पाउँदा आफूलार्इ भाग्यमानी ठान्छु” ।

स्रोतका अनुसार चन्द्रमाको जमिन प्रति एकड ३७.५० अमेरिकी डलर मूल्य पर्दछ र एउटा व्यक्तिले एक पटकमा बढीमा ४० एकड मात्र खरिद गर्न पाउँछ । एजेन्सी