October 24, 2017

निर्वाचन आयोगद्वारा ३४ जिल्लाका उम्मेदवारको सूची प्रकाशित

काठमाण्डौ, २० वैशाख । निर्वाचन आयोगले बुधबार स्थानीय तहको पहिलो चरणमा चुनाव हुने ३४ जिल्लाका उम्मेदवारको सूची प्रकाशित गरेको छ ।

विभिन्न राजनीतिक दल तथा स्वतन्त्रले दिएका उम्मेदवारीको सूची मंगलबार नै प्रकाशित गरिने भनिए पनि कतिपय जिल्लामा राति अबेरसम्म उम्मेदवारी दर्ता भएकाले बुधबार सूची प्रकाशित गरिएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले मनोनयन जाँच गरेर बिहीबार उम्मेदवारकोे नामावली प्रकाशन गर्नेछ । पहिलो चरणमा वैशाख ३१ गते २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा चुनाव हुनेछ । पहिलो चरणको चुनावबाट ९७ प्रमुख र उपप्रमुख, १ सय ८६ अध्यक्ष र उपाध्यक्ष चयन हुने छन् ।यस्तै २ हजार ५ सय ९८ वडाध्यक्ष तथा यति नै संख्यामा महिला र दलित सदस्य निर्वाचित हुने छन् ।

त्यस्तै चुनावमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता सहभागी हुँदैछन् । मतदानका लागि निर्वाचन आयोगले ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकेको छ ।