शरद भेषवाकर यामाहा एफजीएस एफआईका ‘ब्रान्ड एम्बेसडर’

काठमाण्डौ, २० वैशाख । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित मध्य क्रम ब्याट्सम्यान शरण भेषवाकरलाई यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र शरद भेषवाकरले ‘एमओयु’ मा हस्ताक्षर गरे । अब छापा, टिभी, अनलाइन विज्ञापन र शोरुम डिस्प्ले लगायत यामाहा एफजीएस एफआईका सबै सञ्चार अभियानमा भेषवाकर सहभागी हुनेछन् । २८ वर्षीय दायाँ हाते ब्याट्सम्यानले सन् २००४ मा नेपाली राष्ट्रिय टोलीका लागि युएईविरुद्ध डेब्यु गरेका थिए ।

‘यामाहा जस्तो विश्वव्यापी ब्रान्डसँग आबद्ध हुन पाउँदा म निकै हर्षित र रोमाञ्चित भएको छु,’ भेषवाकरले भने, ‘यामाहा मोटरसाइकल म जस्ता युवाको ढुकढुकी बनेको छ । स्पोर्टी, स्टाइलिस र पावरफुल मोटरसाइकल ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा मैले गर्व महसुस गरिरहेको छु ।’

भेषवाकर हाल विश्वको ट्वान्टी२० ब्याट्सम्यानको सूचीमा ८० औं स्थानमा छन् । उनले सन् २०१५ को जुलाईमा २५० रेटिङको उपलब्धी हासिल गरेका थिए । सन् २०१४ को आईसीसी विश्वकप ट्वान्टी२० मा नेपाललाई पुर्‍याउनुमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।