November 20, 2017

घरजग्गा कारोबारमा अर्बौं राजस्व छली

काठमाण्डौ, २२ कार्तिक । सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ ।

भूमिसुधार तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापतको अर्बौं राजस्व छली हुँदै आएको खुलेको हो ।

मुलुकभरका घरजग्गा कारोबार तथ्याङ्क राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाइनमार्फत निगरानी गरिएपछि एकै वर्षमा आठ अर्ब रुपैयाँ राजस्व बढेको छ ।

यो तथ्याङ्कले विगतमा मालपोतका कर्मचारी घरजग्गा दलाल र लेखापढी व्यवसायी लगायतको मिलेमतोमा अर्बौं रुपैयाँ राजस्व छली हुँदै आएको देखिएको हो ।

विभागको योजना शाखाका निर्देशक तथा सूचना अधिकारी सुशील आचार्यले विभागले गरेको नीतिगत सुधार र अनुगमनका कारण गत वर्ष राजस्व असुली उच्च भएको जानकारी दिए ।

‘घरजग्गा किनबेच विवरणलाई अनलाइनमार्फत हेर्ने व्यवस्था गरेपछि राजस्व बढी उठेको छ,’ आचार्यले भने, ‘गतवर्षको तथ्याङ्कलाई हेर्दा विगतमा कम राजस्व उठेको मान्नै पर्छ ।

‘ केही वर्षअघि आन्तरिक राजस्व विभागले पनि गुट्खा, पान, सुर्तीजस्ता वस्तुको प्याकेटमा अन्तशुल्क स्टीकर लगाउँदा यसैगरी राजस्व बढी उठेको थियो । याे खबर नागरिक दैनिकमा छ ।