August 19, 2017

च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलमा आज एएस मोनाको र युभेन्टस भिड्दै

काठमाण्डौ, २० वैशाख । च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा आज एएस मोनाको र युभेन्टस भिड्दैछन् ।

नेपाली समयअनुसार आज राति साढे १२ बजे हुने च्याम्पियन्स लिग फुटबल अन्तर्गतको पहिलो लेगको दोस्रो सेमिफाइनलमा मोनाको र युभेन्टसबीच फ्रेन्च क्लब मोनाकोको घरेलु मैदान स्टेड लुइसमा प्रतिस्पर्धा हुनेछ ।

युभेन्टसले क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनालाई तीन शून्य गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । त्यस्तै घरेलु दर्शक र मैदानमा उत्रिन लागेको मोनाको युभेन्टसलाई पाखा लगाउँदै १३ वर्षपछि फाइनलमा पुग्न चाहन्छ । मोनाको र युभेन्टसबीच भएका पछिल्ला २ खेलमा युभेन्टसले एक खेल जितेको छ भने एक खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यसअघि, गएराति भएको पहिलो लेगको सेमिफाइनलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई तीन शून्य गोलअन्तरले पराजित गरेको छ । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसँगै रियलले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।