November 20, 2017

समलैंगिकतालार्इ अपराध मान्ने चलन कहिले देखि सुरु भयो ?

समलैंगिकतालार्इ लिएर आज पनि विश्वमा अनेक किसिमका कुराहरू सुनिन्छ । कतै यसलार्इ कानूनी अधिकार दिने कुरा चलिरहेको छ भने कहीं यसलार्इ कानूनी मान्यता दिइसकेको छ ।

तर अझै पनि कतिपय ठाउँमा समलैंगिकतालार्इ अपराध मानिन्छ । के तपाइँलार्इ थाहा छ यसको शुरुवात कहाँ र कसरी भएको थियो ? थाहा छैन भने जानी राख्नुहोस् यसको इतिहास ।

समलैंगिक सम्बन्धलार्इ अपराध मान्ने चलनको शुरुवात सत्रौं सताब्दीमा भएको थियो, त्यो पनि एक भयानक विनाशकारी तूफानको कारण ।

३५० वर्ष पहिलेको त्यो भयानक तूफान

कुरो सन् १६७४ को हो । एउटा भयानक तूफान आयो र क्षणभरमै सब तहसनहस बनाएर गयो । यो तूफानले छोडेको बर्बादीको निशानी अझै पनि कैयौं बाँकी छन् ।

करीव ३५० वर्ष पहिले उत्तर-पश्चिम युरोपमा आएको उक्त तूफानले हाहाकार मात्र मच्चाएन, बरु नेदरल्याण्डको सहर युट्रेक्ट ध्वस्त बनाएको थियो । युट्रेक्ट त्यतिबेला समलिंगीहरूको पर्यायको रुपमा चिनिन्थ्यो र अझै पनि यो लागु हुन्छ । समलैंगिकतालार्इ अपराध मान्ने चलनको शुरुवात यसै घटनासँग सम्बन्धित छ ।

सन् १६७२ डच इतिहासको डिज़ास्टर इयर

सत्रौं सताब्दीमा नेदरल्याण्ड पहिलेदेखि चुनौतीको सामना गर्दै आइरहेको थियो । फ्रान्सेली एवम् अंग्रेज शक्तिले कैयौं डच उपनिवेशमाथि धावा बोलिरहेको थियो । सन् १६७२ मा फ्रान्स, इंगल्याण्ड र जर्मनी मिलेर डच रिपब्लिकको अन्त्य गर्यो । डच इतिहासमा यसलार्इ ‘डिजास्टर इयर’ को नामले चिनिन्छ ।

रोयल नेदरल्याण्ड्स मेट्रोलजिकल इन्स्टिच्युटका प्रोफेसर जेरार्ड शिरायर भन्छन्- फ्रान्सले डच गणराज्यको सारा सम्पत्ति हत्याएको थियो । नेदरल्याण्डसँग त्यतिबेला कुनै पनि विपद झेल्न सक्ने आर्थिक हैसियत थिएन । त्यसको ठिक दुर्इ वर्षपछि आँधीबेहेरीले युट्रेक्टमा ताण्डव मच्चायो ।

खण्डहरमा भेट्थे समलिंगी जोडी

कैयौं वर्षसम्म पनि भत्किएका घरहरूको पुनर्निर्माण र त्यसका खण्डहरको सरसफार्इ सरकारले गर्न सकेन । किनकि सरकारसँग कुनै पैसा थिएन ।

भनिन्छ, सो खण्डहरमा समलिंगी जोडीहरू आएर भेट्ने गर्थे । यो सिलसिला धेरै वर्षसम्‍म पनि चलिरह्यो । यसको ५० वर्षपछि इसार्इ पादरीहरूले सो विरुद्ध आवाज उठाए र लुकीछिपी भेट्ने समलिंगी जोडीहरूलार्इ सँजाय दिन थाले ।

उक्त घटनाको बारेमा हरकोहीले झट्ट नपत्याउन सक्छन्, तर यसका यथेष्ट आधार र प्रमाणका रुपमा दस्तावेजहरू छन्।

१६७४ को अगष्ट १ बुधबारको दिन थियो । बच्चाको टाउको जत्रा असिना झरे,  घरका छानाहरू उडे । तत्कालीन पत्रिकाहरूले मात्र हैन, सर्वसाधारणले पनि उक्त घटनाको बारेमा लेखेका थिए । हाल गरिएको रिसर्च अनुसार ‘बो-इको’ नाम दिइएको उक्त आँधीले ‘द डोम चर्च’ लार्इ खण्डहर बनाएको थियो जसको पुनर्निर्माण पछि मात्र भएको थियो । बिबिसीबाट ।