October 24, 2017

गृहमन्त्री राजीनामाको विषय छिट्टै टुंगो लाग्ने कांग्रेसको दाबी

काठमाण्डौ, २० वैशाख । नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामाका बिषयमा चाँडै निर्णयमा पुगिने जनाएको छ ।

पार्टी मुख्यालय सानेपामा केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसमिति संयोजक रमेश लेखकले गृहमन्त्रीको विषयमा चाँडै निर्णयमा पुगिने जानकारी दिए ।

निर्वाचनको मुखमा गृहमन्त्रालय लामो समय खाली राख्नु उपयुक्त नभएको भन्दै यस बिषयमा पार्टी शीर्ष तहमा गम्भिरताका साथ छलफल भइरहेको उनकोे भनाई छ ।

संयोजक लेखकले उम्मेदवारी मनोनयन दर्तासँगै निर्वाचनको सुनिश्चितता बढेको बताए । सरकारको मुख्य काम संविधान कार्यान्वयन गर्दै मुलुकलाई निर्वाचनतर्फ लैजानु भएको भन्दै सरकारले सोही प्राथमिकता अनुसार काम गरेको पनि लेखकले जानकारी दिए ।

राज्यका सबै अंगलाई समानुपातिक समावेशी बनाउने पार्टीको एजेण्डा र कानुनी व्यवस्था अनुसार महिलाहरुको उम्मेदवारी पनि सुनिश्चित गरेको उनले बताए । कांग्रेसले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका आफ्ना ९ उम्मेदवार निर्विरोध भएको पनि जनाएको छ ।

वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि केही जिल्लामा नेकपा माओवादी केन्द्रसँग तालमेल भएको कांग्रेसले जनाएको छ । उनका अनुसार मकवानपुर, धादिङ, दोलखा, म्याग्दी र बाग्लुङमा केही स्थानीय तहमा तालमेल भएको छ ।