November 20, 2017

एएफसी यू–१९ च्याम्पियनसिप : आज नेपाल र युएई भिड्ने

काठमाणण्डौ, १८ कार्तिक । नेपालले एएफसी यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को छनोट प्रतियोगिताको तेस्राे खेल युएईसँग  खेल्ने भएकाे छ ।

नेपाली समय अनुसार खेल साँझ पौने पाँच बजे सुरु हुनेछ । युएईसँगको खेल प्रतियोगितामा अघि बढ्न नेपालका लागि महत्वपूर्ण छ । यसअघिका दुई खेल गुमाएको नेपाललाई समूह विजेता वा उत्कृष्ट ६ समूह उपविजेतामा पर्ने सम्भावनाका लागि यो खेल जितनै पर्ने दबाब रहेकाे छ ।

नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले दुई खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै युएईसँगको खेलमा प्रदर्शन सुधार हुने बताएका छन् । यसअघि बिहीबार भएको खेलमा बहराइनसँग ३–० तथा मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले पराजित भएकाे थियो ।

१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् ।

अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । नेपालले अर्काे खेल  २२ गते ओमनसँग खेल्ने छ ।