November 20, 2017

इभ्राले मैदानमै समर्थकलाई किक हाने, खेल शुरु हुनुअघि पाए रेड कार्ड !

काठमाण्डाै, १७ कार्तिक । म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर प्याट्रिस इभ्रा युरोपा लिगभन्दा अगाडि नै आफ्नै क्लबका समर्थकलाई किक  हानेको आरोपमा रातो कार्ड पाएर बाहिरिएका छन् ।

युरोपा लिगमा खेलअघि नै रेड कार्ड पाउने उनी पहिलो खेलाडी हुन् । मार्सेइका ३६ वर्षीय यी फ्रेन्च लेफ्ट–ब्याक बिहिबार राति पोर्चुगलको स्टेडियो डि आफेन्सो हेनरिक्स रंगशालामा युरोपा लिगअन्तर्गत भिटोरिया गुइमारेसविरुद्ध खेल खेल्न मैदानमा उत्रिँने तयारीमा थिए ।

एक फ्रेन्च पत्रिकाका अनुसार ती समर्थकले ‘वाम अप’ गरिरहेका बेला इभ्राको मजाक उडाएका थिए । इभ्रा पहिले उनीसँग केही कुरा गर्दै थिए तर एकैछिनमा स्थिति बिग्रिएपछि रिस थाम्न नसकेर इभ्राले समर्थकको टाउकोमै किक हाने ।

उनले रेड कार्ड पाए पनि खेल शुरु नहुँदैको घटना भएकाले मार्सेली ११ जना खेलाडीसहित नै खेल्यो । खेलमा मार्सेली १–० ले पराजित भएको हो ।

युरोपेली फुटबलमा यस्तो खालको घटना १९९५ मा भएको थियो । जतिबेला म्यानचेस्टर युनाइटेडका एरिक क्यान्टोनाले उडेर कम्फु शैलीमा सेलहस्र्ट पार्कमा क्रिस्टल प्यालेसका समर्थक म्याथ्यु सिमोन्सलाई हिर्काएका थिए।