September 23, 2017

स्वास्थ्य चौकी निर्माणपछि हस्तान्तरण

पकंज शर्मा / झापा, १९ वैशाख । झापाको बुद्धशान्ति गाउँपालिका ५ स्थित शान्तिनगर स्वास्थ्य चौकीको नवनिर्मित सुविधासम्पन्न भवनको मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाम अन्तर्गतको फिल्ड कार्यालय झापाका इन्जिनियर सुमनकुमार मिश्रले शान्तिनगर स्वास्थ्य चौकी प्रमुख दिपक सापकोटालाई कागजपत्र बुझाएर नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।

बुद्धशान्ति गाउँपालिकाले भवन निर्माणका लागि सात कठ्ठा जग्गा उपलब्ध गराएपछि भवन निर्माण विभागले स्वास्थ्य चौकी निर्माणका लागि बजेट निकासा गरेको थियो । २०७१ साल असार १५ गते सारा श्रृष्टि निर्माण सेवा धनकुटाले भ्याट बाहेक १ करोड ३० लाख २९ हजार ४६ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो ।

४ सय ९५ वर्ग मिटर क्षेत्रफलमा रहेको दुई तले भवनमा डेलिभरी, ओपिडि, प्रयोगशाला, स्टोर, काउन्टरसहित अपाङ्गमैत्री २० वटा कोठा रहेको जनाइएको छ ।

शान्तिनगर स्वास्थ्य चौकी हस्तान्तरण कार्यक्रममा शहरी विकासका इन्जिनियर सुमनकुमार मिश्र, नेपाली कांग्रेसका चक्र शेर्मा, नेकपा एमालेका इन्द्र अधिकारी, माओवादी केन्द्रका मातृका पौडेल, स्वयंसेविका हिमा गौतम लगायतले आफ्नो भनाई राखेका थिए ।