October 24, 2017

काठमाण्डौ महानगरमा नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त उम्मेदवारी

काठमाण्डौ, १९ वैशाख । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले काठमाण्डौ महानगरपालिकामा आफ्नो उम्मेदवार मनोनयन गरेको छ ।

संघीय समाजवादी फोरमका पबित्रमान बज्राचार्य महानगर प्रमुख र नयाँ शक्ति पार्टी नेपालकी नेतृ सबिना अर्यालले उपप्रमुख पदमा मनोनयन पत्र दर्ता गराएका हुन् ।

दुबै पार्टीको संयुक्त टोलीले राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा गएर प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराएका हुन् । यसैगरी काठमाण्डौ महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षसहितका पदाधिकारीहरुको पनि मनोनयन गरिसकेको छ । फोरम र नयाँ शक्ति पार्टीको संयुक्त चुनाव चिन्ह एक हातले बोकेको मशालसहित चुनावमा होमिएका हुन् ।

महानगरको मनोनयनमा उम्मेदवारहरुलाई हौसला प्रदान गर्न नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव मनोनयन स्थल पुगेका थिए ।

मनोनयनस्थलमा नयाँ शक्ति पार्टीका दुर्गा सोब, हिसिला यमी, केशव दाहाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

यसैबीच नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पहिलो चरणमा निर्वाचन हुन लागेका प्रदेश नं. ३, ४ र ६ का जिल्लास्थित नगरपालिका तथा गाउँपालिकाहरुमा संयुक्त उम्मेदवारी दर्ता गराएका छन् ।