अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप वस्न्यातको नाम सिफारिस

काठमाण्डौ, १९ वैशाख । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप वस्न्यातको नाम सिफारिस गरेको छ ।

सिंहदरबारमा मंगलबार अपरान्ह बसेको परिषद्को बैठकले वस्न्यातको नाम सिफारिस गर्ने निर्णय गरेको सभामुख ओनसरी घर्तिले जानकारी दिइन् । वस्न्यात हाल अख्तियारकै कार्यवाहक प्रमुख आयुक्त पदमा रही काम गर्दे आएका छन् । तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि वस्न्यातलाई अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा नियुक्त गरिएको थियो ।

बस्न्यातको सिफारिश संसदीय सुनुवाईका लागि पेश हुने छ । संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिका लागि सिफारिस गर्ने परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने र प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, व्यवस्थापिका–संसदका प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक प्रावधान छ ।