October 22, 2017

सुनचाँदी व्यवसायी संघ झापाकाे तीन बुँदे माग

भद्रपुर, १९ वैशाख । सुनचाँदी व्यवसायी संघ झापाले तीन बुँदे माग सहितको ज्ञापन पत्र मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीलाई बुझाएको छ।

माग पूरा नभए सम्पूर्ण क्षेत्रका व्यवसायीसँग सहकार्य र एकता गरी देशव्यापी रुपमा सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत संघले दिएको छ ।

गत वैशाख १४ गते झिलझिलेमा १ किलो सुनसहित प्रहरीद्वारा नियन्त्रणमा लिई राजश्व अनुसन्धान विभाग इटहरीको जिम्मा लगाएपछि बिर्तामोडस्थित पूर्णिमा ज्वेलर्सका सञ्चालक बैजनाथ साह, व्यवसायी कृष्ण सराफ र सवारी चालक अरुण क्षेत्रीलाई तत्काल संघले रिहाको माग गरेको हो ।

कानूनी प्रक्रिया पूरा गरेर सुन ल्याउँदा प्रहरीले पक्रेको भन्दै सुन व्यवसायी आक्राेशित र आन्दोलित भए सँगै मंगलबार पूर्वका सबै सुन पसल घटनाको विरोधमा बन्द भएका छन् ।

कोटा प्रणाली अनुसार झापाका लागि मासिक आठ केजी, साताको दुई केजीका दरले संघले महासंघका केन्द्रीय समितिमा सिफारिस गरेपछि महासंघको सिफारिसमा कोटा पाएको बाणिज्य बैंकमार्फत सुन आपूर्ति हुँदै आएको छ ।

उक्त व्यवस्था बमोजिम काठमाण्डौबाट सुन खरिद गरी जिल्लामा ल्याएर व्यवसायीले आम सेवाग्राहीलाई सेवा दिँदै आएका छन् ।