October 19, 2017

कांग्रेसले तय गर्‍यो महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवार

ललितपुर १९ वैशाख । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७४ का लागि पहिलो चरणमा निर्वाचन हुने मुलुकका चार वटै महानगरपालिका र एक उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको छ ।

काठमाण्डौ महानगरपालिकाका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गीलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ । त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुखमा चिरिबाबु महर्जन र उपप्रमुखमा गीता सत्याललाई चुनावी मैदानमा उतारेको छ ।

क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो महानगर मानिएको प्रदेश नं ४ को पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ । यसैगरी भरतपुर महानगरपालिका प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाहलाई उम्मेदवार बनाएको छ ।

पहिलो चरणमा निर्वाचन हुने एकमात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाकाे प्रमुखमा कांग्रेसले आनन्दराम पराजुली र उपप्रमुखमा लक्ष्मी श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका तर्फबाट सम्बन्धित महा र उप–महानगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष सहित सदस्य पदमा आधिकारिक रुपमा मनोनयन गरिएका उमेद्वारहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ ।