October 20, 2017

भैरहवाबाट हराइरहेका भनिएका पाकिस्तानी सेनाका पुर्व कर्णेल हबीबको जासुसी एजेन्सीले अपहरण गरेको आशँका

काठमाण्डौ ३१ चैत्र । एक साता अघि भैरहवास्थित विमानस्थलबाट हराइरहेका भनिएका पाकिस्तानी सेनाका पूर्व कर्नेल मोहम्मद हबीबलाई विदेशी जासुसी एजेन्सीहरु मध्ये कुनै एकले अपहरण गरेको हुनसक्ने आशँका गरिएको छ ।

कर्णेल हबीबका छोराले आफ्ना पिताको खोजीका लागि पाकिस्तानी सुरक्षा निकायमा निवेदन दिएका छन । निवेदनमा आफ्ना पितालाई शत्रु देशका जासुसी एजेन्सीले छल गरेर नेपाल बोलाएको र नेपालबाटै अपहरण गरेको उल्लेख छ । पाकिस्तानी सुरक्षा अधिकारीहरुले हबीबको खोजीका लागि नेपाल सरकारसँग निरन्तर सँवाद भइरहेको प्रतिक्रिया दिएका छन ।

नेपाली सुरक्षा अधिकारीहरुले हबीबको खोजी गरिरहेको बताएका छन । भैरहवा विमानस्थलको सीसी टिभी भिडियोमा उनी एक अज्ञात व्यक्तिसँग कुरा गर्दै विमानस्थल बाहिर निस्किएको देखिएको नेपाली सुरक्षा अधिकारीले बताएका छन ।  सन २०१४ मा पाकिस्तानी सेनाको कर्णेल पदबाट अवकास पाए पछि उनी पाकिस्तानकै फैसलावादस्थित निजी कम्पनीमा जागिर गरिरहेका थिए ।

पाकिस्तानी सुरक्षा एजेन्सीहरुले हबीबको इमेलको अनुसन्धान गर्दा उनी विदेशी एजेन्सीमा जागिर गर्ने सिलसिलामा उक्त एजेन्सीको नेपालस्थित कार्यालयमा सम्पर्क गर्न आएको पत्ता लागेको छ । तर हबीबले हराउनु अघि सम्पर्क गरेका सबै सम्पर्क सुत्रहरु अहिले बन्द रहेको पनि अनुसन्धानबाट खुलेको छ ।

हबीबको मार्च महिनामा ‘स्टार्ट सोलुसन’ नाम गरेको वेबसाइट मार्फत थामसन भन्ने व्यक्तिसँग एउटा कुनै विदेशी सुरक्षा एजेन्सीमा ३५ सय देखि ८५ सय अमेरिकी डलर पारिश्रमिकमा सुरक्षा अधिकारीको जागिर सम्बन्धी कुरा भएको अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन । उनी यही जागिरका सिलसिलामा नेपाल आएको बताइएको छ ।