November 17, 2017

राज्यका विभिन्न निकायकाे फरक–फरक मतले नागरिकताबाट बञ्चित समस्यामा

काठमाण्डाै, ६ कार्तिक । नागरिकताबाट बञ्चित नेपालीहरुको पिडा समेटेर आयोजना गरिएको दुई दिने राष्ट्रिय फोटो प्रदर्शनी काठमाडौंमा शुरु भएको छ ।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु फोटो प्रदर्शनीको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गरेका हुन् । कार्यक्रममा शर्माले नागरिकताबाट बञ्चित व्यक्तिहरुका सवालमा सरकार, कर्मचारी र अदाललतले फरक–फरक तरिकाले व्याख्या गर्ने परिपाटीले उनीहरुका समस्या समाधान हुन नसकेको बताए ।

उनले नागरिकहरुको हक र अधिकारकालागि संविधान अनुकुलको कानून आउनुपर्ने बताए । मुलुकका विभिन्न क्षेत्रका व्यक्तिहरुले विविध कारणले नागरिकता पाउनबाट बञ्चित भएका र उनीहरुले भोगेका कथा–व्यथालाई फोटो प्रदर्शनीमा समेटिएको छ ।