November 17, 2017

सरकारकाे मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त

काठमाण्डाै, ६ कार्तिक ।  सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गृहसचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण मंगलबारदेखि अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिवमा रेग्मीलाई नियुक्त गरेको हो ।

यस्तै बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । प्राधिकरणको जिम्मेवारी तत्कालका लागि पूर्व अर्थसचिव युवराज भुसाललाई दिने निर्णय बैठकले गरेको छ ।

बैठकले डाक्टर गोविन्द केसीको माग अनुसार तयार पारिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुमोदन गर्ने निर्णय गरेको छ ।

डाक्टर केसीको सुझाव र माथेमा प्रतिवेदनमा आधारित रहेर सरकारले अध्यादेश पारित गरेको सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए । यसैगरी मन्त्रिपरिषद्ले केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको सञ्चारमन्त्री बस्नेले जानकारी दिनुभयो ।