November 17, 2017

फर्की आयो चुनावी पर्व, यी क्षेत्रमा हुँदैछ रोचक भिडन्त

काठमाण्डाै, ६ कार्तिक । आगामी १० मंसिरमा हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८०२ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेश सभाका लागि ४८२ ले उम्मेदवारी दिएका छन् । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभा ७४ गरी १११ सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।

निर्वाचन आयोगले आइतबार शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्ष निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने बताए । ‘एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ,’ उनले भने ।

निर्वाचन आयोगले ८ कात्तिकमा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यतालिका छ । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी जाँचबुझ तथा छानबिन गर्ने, उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि निर्वाचन चिह्न प्रदान गर्नेछ । आयोगले ९ कात्तिकबाट पहिलो चरणका प्रत्यक्षतर्फका मतपत्र छाप्न सुरु गर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने एक करोड ७४ लाख मतपत्रमध्ये एक करोड १२ लाख मत छापिइसकेको छ । समानुपातिकका मतपत्र सात प्रकारका हुनेछन् भने प्रत्यक्षतर्फका मतपत्र भने निर्वाचन क्षेत्रअनुसार फरक–फरक हुनेछन् । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।

यी क्षेत्रमा रोचक भिडन्त

गोरखा–२ : लोकतान्त्रिक गठबन्धनका डा. बाबुराम भट्टराई र वाम गठबन्धनका नारायणकाजी श्रेष्ठ

सिन्धुपाल्चोक–१ : वाम गठबन्धनका तर्फबाट अग्नि सापकोटा र लोकतान्त्रिक गठबन्धनका सञ्चारमन्त्री मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक–२ : लोकतान्त्रिक गठबन्धनका पशुपतिशमशेर राणा र वाम गठबन्धनका शेरबहादुर तामाङ

लमजुङ : वाम गठबन्धनका देव गुरुङ र लोकतान्त्रिक गठबन्धनका दिलबहादुर घर्ती

नुवाकोट–१ : वाम गठबन्धनका हितबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका रामशरण महत

नुवाकोट–२ : लोकतान्त्रिक गठबन्धनका अर्जुननरसिंह केसी र वाम गठबन्धनका नारायणप्रसाद खतिवडा

ओखलढुंगा : वाम गठबन्धनका यज्ञराज सुनुवार र लोकतान्त्रिक गठबन्धनका रामहरि खतिवडा

जाजरकोट : वाम गठबन्धनका शक्ति बस्नेत र लोकतान्त्रिक गठबन्धनका राजीवविक्रम शाह