November 17, 2017

वाम गठबन्धनभित्र असन्तुष्टि

काठमाण्डाै, ६ कार्तिक । आसन्न निर्वाचनमा चुनावी तालमेल गरेका वाम गठबन्धनभित्र तालमेल र उम्मेदवारी चयनका विषयमा ठाउँ-ठाँउमा असन्तुष्टि चुलिएको छ ।

असन्तुष्टि बढेसँगै कतिपय स्थानमा वाम गठबन्धन भित्रैबाट बागी उम्मेदवारीसमेत परेको छ । माओवादी सचिवालय सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको जाजरकोटमा एमालेका गोविन्द्रविक्रम शाहीले बागी उम्मेदवारी दिएका छन् ।

पूर्वसांसदसमेत रहेका शाहीले मात्र होइन, जाजरकोटकै प्रदेशसभाको (क) मा पनि गठबन्धन भित्रैबाट बागी उम्मेदवारी परेको छ । प्रदेशमा गठबन्धनका उम्मेदवार माओवादी उम्मेदवार गणेश सिंहविरुद्ध एमालेका निरज आचार्यले बागी उम्मेदवारी दिएका छन् ।

रामेछापमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध उनकै पार्टीका दुईजना जिल्ला नेताले बागी उम्मेदवारी दिएका छन् । बिनाविभागीय राज्यमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध पूर्वसभासद्समेत रहेकी लक्ष्मी गुरुङ र मैनकुमार मोक्तानले बागी उम्मेदवारी दिएका छन् ।

रामेछापकै प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । अन्य कतिपय क्षेत्रमा पनि वाम गठबन्धनभित्रै असन्तुष्टि र बागी उम्मेदवारी परेका छ । एमाले उम्मेदवारले टिकट पाएका क्षेत्रमा माओवादीका र माओवादीले टिकट पाएका ठाउँमा एमालेका उम्मेदवारले बागी उम्मेदवारी दिएका छन्।

तर, यस्ता घटनालाई सामान्य रूपमा लिई तालमेललाई प्रभावकारी बनाउन दुवै पार्टीका नेताले जिल्ला तहमा निर्देशन दिएका छन् । याे खबर अन्नपूर्णमा पाेस्टमा छ ।