November 17, 2017

काठमाण्डौको म्हेपीमा गोली प्रहार हुँदा एक जना घाइते

काठमाण्डौ, ५ कार्तिक । काठमाण्डौको म्हेपीमा बिहान ४ बजे गोली प्रहार हुदा एक जना घाइते भएका छन् ।

स्कुटीमा हिँडिरहेका २८ वर्षीय कल्याण गुरुङमाथि कारमा आएको अज्ञात समूहले गोली प्रहार गरेकाे प्रहरीले जनाएको छ । काठमाडौं रानीवनका गुरुङको घुँडा मुनि गोली लागेकोले उनी खतरामुक्त रहेको प्रहीले जनाएको छ । अहिले उनकाे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

यसकारण चल्यो गोली 

ठमेलको सिएनआइ क्लब राति अबेरसम्म खुल्लै थियो । क्लबमा रमाइलो गरिसकेपछि एउटा गाडीमा दुइजना युवती र एक युवक निस्किए । क्लबबाट निस्केपछि तीनवटा स्कुटीमा ६ जना युवाले गाडी पच्छ्याउन सुरु गरे । लैनचौर चोकमा आएपछि स्कुटीमा आएका युवाले गाडी रोक्ने प्रयास गरे ।

गाडी भित्र रहेकामध्येकी एकजना सबिना क्षत्रीले गाडी चालकलाई ‘केटा’हरुले आफूलाई पच्छ्याएको बताइन् । त्यसपछि गाडी चालकले सिसा खोलेर फायर (सुट) गरे । रातको समय फायर गर्दा रानीबारीका २८ वर्षीय कल्याण गुरुङलाई लाग्न पुग्यो ।

प्रहरीका अनुसार गोलीले घुँडानेरको छाला छेडेर गोली निस्किएको छ । प्रहरीले गोली प्रहार गर्ने गाडी चालक पहिचान भइसकेको अब पक्रन मात्रै बाँकी रहेको जनाएको छ । प्रहरीले सबिना क्षत्री सहित अरु चारजना युवालाई पक्राउ गरेको छ।