November 17, 2017

प्रधानमन्त्रीद्वारा निर्वाचनमा भाग लिन सबै दललाई आग्रह

काठमाण्डाै, ३ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर  १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन्  ।

नेपाल संवत ११३८ समारोह समितिद्वारा आयोजित सांस्कृतिक र्‍यालीको उद्घाटन गर्दै उनले मंसिरमा हुने दुवै निर्वाचनले संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताए । प्रधानमन्त्री देउवाले नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा राज्यले मान्यता दिइसकेकाले नेवार समुदायमा मात्र सीमित नभएर सबैले मनाउनुपर्ने बताए ।

समितिका अध्यक्ष एवं श्रेष्ठ समाजका महासचिव सुवर्णमान अमात्यले नेपाल संवत्लाई राष्ट्रियरुपमा मनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले सिकर्मी समाजद्वारा प्रकाशित क्यालेन्डरको विमोचन पनि गरेका हुन् । उनले नेपाल सम्वतका प्रणेता शंखधर साख्वाको मूर्तिमा माल्यार्पण गरेका छन् ।

सांस्कृतिक र्‍याली पाटन दरबार, मंगलबजारबाट सुरु भएर पाटनकै सुन्धारा, वकुबहाल, पूर्णचण्डी, पुल्चोक, कुम्भेश्वर भएर मंगलबजारमा आएर समापन भएको थियाे ।