November 17, 2017

धनगढीमा पटका पट्काउँदा आगलागी, ८० लाख बराबरको सामान जलेर नष्ट

कैलाली, ३ कार्तिक । धनगढीको मेनरोडमा रहेको ‘भट्टराई प्लष्टिक शोरुम’मा बिहीबार राति भएको आगलागीबाट झण्डै रु ८० लाख बराबरको व्यापारिक मालसामान जलेर नष्ट भएको छ ।

राति साढे ७ बजेबाट सुरु भएको आगलागी राति ९ बजे पूर्ण नियन्त्रणमा आएको थियो । प्लास्टिकका सामान आगोले छिट्टै पिप्ने भएकाले धेरै क्षति भएको बताइएको छ । शोरुम पछाडिको खुला ठाउँमा राखिएको प्लाष्टिकजन्य व्यापारिक सामानबाट सल्केको आगो शोरुम रहेको दुईतले भवनमा लागेपछि भवनमा समेत ठूलो क्षति पुगेको छ ।

स्थानीयवासी रामनाथ भट्टराईले चलाएको उक्त शोरुममा भएको आगलागीबाट कुर्सी लगायतका प्लाष्टिकजन्य व्यापारिक सामान जलेर नष्ट भएको छ । पटका पट्काउँदा निस्केको आगोको झिल्कोले आगलागी भएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनकारी दिएकाे छ ।

प्रहरी र स्थानीयबासीको संयुक्त प्रयासमा धनगढी उपमहानगरपालिकाको दुईवटा दमकल र गोदावरी नगरपालिकाको एउटा दमकलको सहायतामा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएपछि वरिपरिका अन्य घरपसल आगो लाग्नबाट जोगिएका छन् ।