October 19, 2017

आइजिपी विवाद मुद्दामा सर्वोच्चले आज फेरी छलफल गर्दै 

काठमाण्डौं १९ बैशाख । नेपाल प्रहरीको आइजिपी विवाद मुद्दाको फाइल सर्वोच्चमा आजदेखि फेरि खुल्दैछ ।

चैत ३० गतेको आदेश अनुसार सर्वोच्चले मुद्दाको बृहद् पूर्ण इजलासमा सुनुवाइ गर्नेछ । सर्वोच्चमा आजदेखि चार डिआइजीको कार्यसम्पादन मूल्याङ्कनको फाइल पुनः खुल्न लागेको हो ।

आइजिपी प्रकरणमा यसअघिको फैसलाका कारण प्रधानन्यायाधीश सुशीला काकीमाथि संसदमा महाभियोग दर्ता भएको छ । महाभियोगका कारण कार्की निलम्वनमा परेपछि  आजदेखि न्यायपालिकाको नेतृत्व कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्दै छन ।

कामु प्रधानन्यायाधीश पराजुलीले आइजिपी प्रकरणको मुद्दा हेर्ने जिम्मेवारी कसलाई दिनेछन भन्ने चासोको विषय बनेको छ । सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले गत चैत ८ गते जयबहादुर चन्दलाई आइजिपी नियुक्त गर्ने सरकारको निर्णय बदर गरेको थियो ।

सर्वोच्चले कार्यसम्पादनमा डिआइजी नवराज सिलवाल अघि रहेको आदेशमै उल्लेख गरेको थियो । सरकारले भने सिलवालभन्दा डिआइजी प्रकाश अर्यालको कार्यसम्पादनको अंक बढी रहेको भन्दै २८ चैतमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । नियक्तिपछि सिलवाल पुनः आदेश अनुसार नियुक्ति नभएको भन्दै सर्वोच्च पुगेका थिए ।