November 17, 2017

गच्छदारको फेरिएको राजनीतिक रंग

नेपाली राजनीतिको केन्द्रमा जहिलेपनि चर्चामा रहने उपप्रधानमन्त्री बिजयकुमार गच्छदार आफ्नो नाम जस्तै पराजित हुने खेलमा कहिले सामेल हुदैनन् । राजनीतिमा सदैव अपराजित राजनीति गर्न माहिर गच्छदार ताललाई बुझ्न सक्छन् र तालमा अरुलाई नचाउन पनि सक्छन् ।

सत्ता राजनीतिमा संम्भवत सबैभन्दा बढी लाभको कुर्सिमा बस्ने नेताको शिर्षमा पर्ने गच्छदार परिस्थितिलाई बुझ्ने नेता हुन र आफ्नो डम्फु बजाउन कुनै कसुर बाँकी राख्दैनन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट बिद्यार्थी राजनीति शुरु गरेका गच्छदारले लामो समय नेपाली काँग्रेसमा बिताए ।

कांग्रेस नेता गिरिजाप्रसाद कोइरालालाई आफ्नो आर्दश ठान्ने उनले कोइरालाकै छत्रछाँयामा कांग्रेस भित्र आफ्नो दरिलो प्रभाव राख्न सफल भए । २०४६ सालपछि सदाबहार नेपाली राजनीतिमा छाएका गच्छदारले मुलुकमा कांग्रेसको दवदवा हुँदासम्म आफ्नो प्रभाव कायम राखे । पछिल्लो समय नेपाल लोकतान्त्रिक फोरमबाट राजनीति गर्दै आएका उनले परिस्थिति बुझेर पुन कांग्रेसको मूल बाटोमा फर्किए र काँग्रेस प्रतिको आफ्नो मोह कायमै रहेको भावना प्रकट गरे ।

नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै बदलिएको राजनीतिमा गच्छदारले पनि असोज ३० गते आफ्नो पार्टीलाई कांग्रेसमा विलय गराए । १० वर्षे उनको राजनीतिमा पुन बद्लाव आयो र असोज ३० गते उनी पुन गिरिजाप्रसाद कोइरालालाई सम्झदै भावुक बने । सायद राजनीति भावनाबाट गरिदैन । उनले यो कुरा राम्रोसँग बुझेका छन् ।यति बुझेरपनि उनी मौसमको राजनीति गर्न खप्पिस छन् र मौसम अनुसार आफुलाई ढाल्न माहिर छन् ।

जसरी छेपारोले मौसम अनुसार रंग बदल्छ, गच्छदारमा पनि यो प्रवृति लागु हुन्छ । प्रचण्डसँग एकै मञ्चमा भाषण गर्दा उनी प्रचण्डपथलाई साधुवाद दिन्छन् । एमालेसँग चुनावी तालमेल हुँदा उनी सूर्यलाई नमस्कार गर्छन् । गच्छदार कहिले उपेन्द्र यादवलाई मधेशको सच्चा सपुत मान्छन् त कहिले कमल थापासँग कुममा कुम जोड्छन् ।

उनले राजनीतिलाई राम्रोसँग बुझेका छन् । लाभको पदमा बस्न, उनलाई कुन बेला के गर्नुपर्छ भन्ने राम्रोसँग हेक्का छ । सञ्चार राज्यमन्त्री हुदै सरकारको केन्द्रीय तहमा पुगेका गच्छदारले आफु अनुकुल हुँदा गिरिजाप्रसाद कोइरालालाई जहिले शिरमा राख्थे । गच्छदार कोइरालाको यति नजिक थिए कि तराई क्षेत्रका थारु समुदाय प्रतिनिधित्व गर्ने उनी शक्तिशाली नेता थिए ।

उनी कोइराला क्याम्पबाट कांग्रेसको केन्द्रीय सदस्यपनि बनिसकेका थिए । कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले बिस्तारै सुनसरीबाट प्रतिनिधित्व गर्ने गच्छदार ‘माइनस’ गर्दै सप्तरीबाट प्रतिनिधित्व गर्ने जयप्रकाश गुप्तालाई काखी च्यापेपछि उनी क्रमश कोइराला क्याम्पबाट टाढिदै गएका थिए । उपयुक्त मौकाको प्रतिक्षामा रहेका गच्छदारलाई कांग्रेस भित्रै राजनीतिक रंग फेर्न धेरै समय कुर्नु परेन ।

कांग्रेस भित्र बढ्दै गएको धु्रवीकरणको एउटा बिषय सत्तापनि थियो । सत्तामा कुन शक्ति पुग्ने भन्ने जोडबलले त्यसबेलाको राजनीतिमा ठूलै प्रभाव परेको बेला २०५९ असोज ६ गते शेरबहादुर देउवाले कांग्रेस फुटाए र त्यसको १० दिनपछि उनी प्रधानमन्त्री बन्न पुगे । शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेस प्रजातिन्त्रक गच्छदारका लागि अर्को अवसर बनेर आयो ।

सुनसरीको आफ्नो क्षेत्रमा दरिलो पकड भएका गच्छदार सुनौलो मौकाको प्रतिक्षामा थिए । कांग्रेस प्रजातान्त्रिकको सहमहामन्त्री भएसँगै उनको राजनीतिले अर्को मोड लियो । प्रजातान्त्रिकको प्रभावशाली नेताको स्थापित भएका गच्छदारले त्यो बेला आफुलाई अवसर नदिइएको आरोप समेत लगाए । तर उनी त्यो भन्दा पहिले नै पटक पटक मन्त्री बनिसकेका थिए ।

२०६० साल असार २९ गते विराटनगरमा कांग्रेस प्रजातान्त्रिकको बृहत कार्यक्रम थियो । क्षेत्रीय कार्यकर्ता भेलाको नाम दिएर स्थानीय बिरन्द्र सभागृहमा आयोजना भएको सो कार्यक्रममा तत्कालिन प्रधानमन्त्री देउवा प्रमुख अतिथि थिए । सो कार्यक्रममा डा. नारायण खड्का, बलबहादुर केसी, होमनाथ दाहाल, बिमलेन्द्र निधि, प्रदीप गिरी, खुमबहादुर खड्का, चिरन्जवी बाग्ले, प्रकाशमान सिंह लगायतका नेताहरु सहभागी थिए । देउवा सरकारले निर्वाचनको घोषणा गरिसकेको थियो ।

सभागृहमा खचाखच कार्यकर्ताको भरिएका थिए । कार्यक्रमस्थल बाहिरका सडकहरुमा माइकहरु घन्किरहेको थियो । नजिकै रहेको कोइराला निवास आसपास त माइक नै माइक थियो । त्यो बेला तत्कालिन प्रजातान्त्रिकका सहमहामन्त्री गच्छदार भन्दै थिए, ‘संस्थापन पक्षले काँग्रेसको मूल्य र मान्यता बिर्सदै गयो ।

त्यसैले हामीले शेरबहादुर देउवाको नेतृत्वलाई स्वीकार गरेका छौ । यो पार्टी बहादुर नै बहादुरको पार्टी हो । मैले यही घरबाट राजनीति शुरु गरेको हुँ । अब यही घरबाट गिरिजाप्रसाद कोइरालाको कर्तुतलाई पर्दाफास गरेर जाऔ ।’

कुनैबेला गिरिजाप्रसादले गरेको कार्यलाई कर्तुतको संज्ञा दिने गच्छदार कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच पार्टी एकीकरण भएपछि पनि सो पार्टीका टिक्न सकेनन् । परिबेशलाई बुझेका गच्छदारले तिनै गिरिजाप्रसादलाई बालुवाटारमा घुर्काउदै तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसँग २०६४ फागुनमा कुम जोड्न पुगे ।

सत्ता केन्द्रीत राजनीति गर्ने र सत्तामा पुग्नका लागि आफुलाई ‘कि पर्सन’ भएको दावी गर्ने गच्छदारको राजनीतिक आयु फोरमभित्र पनि लामो समय पनि टिक्न सकेनन् । २०६६ सालमा फोरम लोकतान्त्रिकको उदय गरेका गच्छदार फलत फेरि आफ्नै माउ पार्टीमा फर्किएका छन् । २०५९ सालमा तिनै देउवाको नेतृत्व स्वीकार गरेका गच्छदारले १५ बर्षपछि तिनै देउवालाई नेता मानेका छन् ।

त्यो बेला गिरिजाप्रसादको कर्तुत पर्दाफास गर्न कम्मर कस्ने गच्छदार यो बेला गिरिजाप्रसादको आर्दश र त्यागको स्मरण गर्दै भावुक बन्न पुगे । शायद आगामी दिनपनि गच्छदारको राजनीति अन्यौलतामा कदापि बित्ने छैन, किनकी उनलाई राजनीतिक रंग फेर्न कसैले सिकाई रहनु पर्दैन । अनि संम्भवत उनले अब गिरिजाप्रसाद कोइरालाको कर्तुतलाई पर्दाफास पनि गर्ने छैनन् । lovelyprahlad@gmail.com