November 17, 2017

प्रजातान्त्रिक शक्तिबीच एकताको सपना पूरा हुन लागेकाे उद्योमन्त्रीकाे प्रतिक्रिया

काठमाण्डौ,२ कार्तिक । उद्योमन्त्री सुनीलबहादुर थापाले आफ्ना पिता सूर्यबहादुर थापाले चाहेको वृहत् प्रजातान्त्रिक शक्तिबीच एकताको सपना अहिले आएर पूरा हुन लागेको प्रतिक्रिया दिएका छन् ।

मालीगाउँस्थित आफ्नै निवासमा रिपोर्टर्स क्लब नेपालको आयोजनामा भएको देउसी भैलो कार्यक्रमका अवसरमा लोकतान्त्रिक गठबन्धनले मजबुत सरकार बन्ने भन्दै धेरै समयअघि आफ्ना पिताले प्रजातान्त्रिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिने गरेको बताए ।

उद्योमन्त्री थापाले वाम र लोकतान्त्रिक ध्रुविकरणले स्थायी सरकारको अवस्था आउने भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । यसअघिको दोस्रो संविधानसभाको निर्वाचनमा जनतासमक्ष संविधान निर्माण गर्ने बाचा गरेर भोट मागेको स्मरण गराउँदै थापाले भने, संविधान दिएँ, अब आर्थिक विकासका लागि काम गर्नुपर्नेछ ।

पूर्वाधार र केन्द्रका हिसाबले उपयुक्त मानिएको धनकुटालाई प्रदेश नम्बर एकको राजधानी बनाउने आफ्नो अभियान रहेकाे बताए । चुनाव हुँदैन भनेर अफवाह फैल्याइएको प्रति असन्तुष्टी जनाउँदै थापाले तोकिएकै मितिमा चुनाव हुने दावी गरे ।