सत्ता गठबन्धनलाई संकट, बिजय गच्छदारको पनि समर्थन फिर्ता लिने संभावना

काठमाडौं, १९ बैशाख  । सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्ट संसद्को चौथो ठूलो दल राप्रपा सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्ता नभएमा कडा प्रतिरोधको चेतावनी दिएको छ ।

यस्तै प्रधानमन्त्री प्रचण्डसँग सोमबार साँझ भेटेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग तत्काल फिर्ता नलिए वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनसक्ने चेतावनी दिएका छन् ।
गच्छदारले महाभियोगजस्तो प्रस्ताव संसद्मा दर्ता हुँदा सरकारलाई समर्थन दिएका दलहरूसँग परामर्श नगर्नुको उद्देश्य स्पष्ट गर्नसमेत दाहालसँग माग गरेका थिए ।
प्रधानमन्त्रीले सोमबार नै राप्रपाले सरकारको समर्थन फिर्ता लिएको हुँदा लोकतान्त्रिकलाई सरकारमा सहभागी हुन गरेको आग्रहलाई गच्छदारले अस्वीकार गरेको जानकारी स्रोतले दियो ।फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने , सरकारलाई दिएको समर्थन आजको दिनसम्म जारी छ । भोलिका दिनमा उसको गतिविधिमा भर पर्छ । यो खबर अन्नपूर्ण पोस्टमा छ ।